कार्यालय प्रमूखको मन्तव्य

नेपाली अर्थतन्त्रमा करिब दुई तिहाई योगदान गर्ने कृषि क्षेत्रको विकास बाट मात्र बहुसंख्यक जनताको जिवनस्तरमा सुधार ल्याउन सकिन्छ । यसका लागि कृषि क्षेत्रको आधुनिकिकरण र औधोगिकिकरण अपरिहार्य हुन्छ  जुन कृषिजन्य बाली, बस्तुको उत्पादन र उत्पादकत्व अभिबृद्धि बाट सम्भव छ।

जलवायु परिवर्तन, खेतीयोग्य जमीनको खण्डिकरण एवं घडेरीकरण, कृषि श्रमिकको पलायन, सिंचाईको असुविधा, युवाहरुको कृषि क्षेत्रप्रतिको अरुचि, गुणस्तरीय मल/बीउको अभाव आदि नेपालमा कृषि क्षेत्रको विकासको मूल बाधकको रुपमा रहेका छन् । खेती योग्य जमीनको चक्लाबन्दी, उन्नत प्रविधीको प्रयोग, सिंचाईको सुविधा, मलखादको पर्याप्त उपलब्धता, उन्नत बीउ विजनको प्रयोग, सर्वसुलभ कृषि ऋणको सुविधा र उत्पादित उपजको सुनिश्चित बजार कृषि क्षेत्रको विकासका लागि पूर्वशर्त हरु हुन् । 

कृषिमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले कृषिसंग सम्बन्धित विविध कृषि नीति, आयोजना, कार्यक्रमहरु संचालनमा ल्याईरहेको छ । नेपालको संविधान २०७२ मा समेत खाद्यको हकलाई मौलिक हक मानि प्रत्येक नेपालीको खान पाउने हकको ग्यारेण्टी गरिएको छ । त्यसैगरी, नेपालमा बीउ विजन क्षेत्रको दिगो विकास गर्ने मार्गचित्रका साथ ल्याइएको बीउ विजनको राष्ट्रिय दिर्घकालिन सोंच (सन् २०१३–२०२५) समेत कार्यान्वयनकै चरणमा रहेको छ ।

कृषि उत्पादन र उत्पादकत्व अभिबृद्धिका लागि उत्पादन सामाग्रीहरु जस्तै मल, बीउ, सिंचाइ र कृषि प्रविधिहरुको समुचित प्रयोग अनिवार्य हुन आउँछ। जसमध्ये गुणस्तरीय उन्नत वीउ विजनको प्रयोगले मात्र पनि कृषि उत्पादनमा १५-२५ प्रतिसत सम्म बृद्धि ल्याउन सकिने तथ्य हाम्रा सामु रहेको छ। तर हाल अधिकांश कृषकहरुले प्रयोग गर्दै आइरहेका बीउ उन्नत जातका भएतापनि उत्पादनको शिलशिलामा विभिन्न कारणहरुबाट समिश्रण भई बीउको गुणस्तर ह्रास हुन गई कम उत्पादन दिने अवस्थामा रहेका छन। यस्ता बीउलाई गुणस्तरीय बीउले प्रतिस्थापन गर्न सके मात्र पनि समग्र कृषि उत्पादनमा उल्लेख्य बृद्धि गर्न सकिन्छ।

यसै सन्दर्भमा हाल देशको परिवर्तित संघीय संरचना अनुसार यस प्रयोगशालाले प्रदेश नं. ५ अन्तरगत आफ्नो कार्यक्षेत्रभित्रका  साविक लुम्विनी अञ्चलका नवलपरासी (ब.सु.प.), रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाहरुमा सेवा पुर्याउँदै आइरहेको छ ।  प्रयोगशालाले बीउ परीक्षण, बीउ बाली खेत निरीक्षण, बीउ प्रमाणिकरण, बीउ उत्पादन तथा गुणस्तर नियन्त्रणसम्बन्धि तालिमका साथै जिल्लाहरुमा बीउ उत्पादन, प्रशोधन, भण्डारण, वितरण तथा वीउ वजारको अनुगमन, निरीक्षण आदि कार्यहरुबाट बीउको गूणस्तर कायम गर्दै विभिन्न स्रोत केन्द्रहरु मार्फत सहज उपलब्धताका लागि कृषकहरुलाई सहयोग पुर्याउदै आइरहेको छ ।

अन्त्यमा गुणस्तरीय वीउ विजनको कृषकस्तरमा ब्यापक प्रयोगबाट मात्र कृषि क्षेत्रको अपेक्षित विकास हासिल गर्न सकिने कुरालाइ मनन् गर्दै यसमा संलग्न सम्पूर्ण सरोकारवाला निकाय, संघ/संस्था र ब्यक्तिहरुको सामुहिक प्रयासले मात्र यो सम्भव हुने हुँदा यसका लागि समेत सबैबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा राख्दछु ।

धन्यबाद ।

 

दिपक सापकोटा

प्रमुख एवं
वरिष्ठ बाली विकास अधिकृत